मसँग नेपाललाई चाहिनेभन्दा बढी छ: संगीतकार सुनाम!!!

theplanetnepal

काठमाडौ, भाद्र २ - उनी जति राम्रा संगीतगुरु हुन्, त्यति नै गतिला संगीतकार, संगीत संयोजक र स्याक्सोफोन उस्ताद पनि हुन् । 'हुँ यात्री एउटा...,' 'तिमीले भनेका सारा देव छोएर...,' 'निर्दोष मेरो पछ्यौरीमा...,' 'फूलैफूलको मौसम तिमीलाई...,' 'रेलिमाई रेलिमाई...' जस्ता सदावहार गीतका संगीतकार शुभबहादुर सुनामलाई 'के घर के डेरा,' 'चाहना,' 'दाजुभाइ,' 'बन्धन,' 'आमा,' 'जन्मजन्म' लगायतका फिल्म र 'दलन' टेलिसिरियलले पनि चिनाएका छन् । 'सुनकेसरी,' 'सुरही,' 'भक्ति भजन' सहितका एल्बममा पनि संगीत दिएका उनी अचेल 'मालश्री' एल्बमको तयारीमा छन्, जसमा नेेपाली जनजीवनमा भिजेका मौलिक धुनहरू स्याक्सोफोन र क्लारिनेटमार्फत् सुनिनेछन् । नेपाली सेनामा संगीतकारकै रूपमा लामो समय सेवारत रहेका ६२ वर्षीय सुनाम बि्रगेडियर जनरल (सहायक रथि) भई अवकाश पाएयता नेपाल म्युजिक सेन्टरमा कला निर्देशक छन् ।

अचेल स्याक्सोफोनमा मात्रै सीमित जस्तो देखिनुहुन्छ नि ?

बजाउन त थुप्रै बाजाहरू बजाउँछु, तर स्याक्सोफोन मेरो मुख्य बाजा भएकाले त्यसैमा बढी प्रयोग गरिरहेको हुँ ।

'हुँ यात्री...,’ 'तिमीले भनेका...’ जस्ता गीत नसुनिएको धेरै भयो ।

गीतहरू पनि मैले गरिरहेको छु । नयाँ कम्पोजहरू सकभर नयाँ सिंगरहरूलाई सिकाएर नयाँ पुस्तालाई नै उत्पादन गर्न खोजिरहेको छु ।

तर शुभबहादुर त्यो उचाइमा नसुनिएको जुगै भएन र ? कि नयाँले तपाईंका कम्पोजलाई न्याय नगरिदिएका हुन् ?

त्यस्तो होइन । गीत कम्पोजमा बीचमा मैले पर्याप्त समय दिन सकिनँ । म सेनामा सम्बद्ध थिएँ । माथिल्लो ओहदामा पुगेपछि व्यस्तता बढ्यो । सांगीतिक कर्मका लागि रोकावट नहुँदानहुँदै पनि त्यति गीत निकाल्न सकिएन ।

फिल्मसँग पनि सम्बन्धविच्छेद गरे जस्तो भयो ।

यसमा पनि कारण त्यही हो । अर्को कुरा, सबैको पछि लागेर हिंडिरहन सकिँदैन । पहिले एउटा हुइम थियो, पुराना/वरिष्ठ संगीतकारलाई लिने भनेर । त्यति बेला आठ नौ वटा फिल्म गरें । त्यसपछि नयाँ संगीतकारहरू ठाउँठाउँमा पुग्न थाले । हामी पुरानाले निर्माता/निर्देशककहाँ चाकडी गर्न जान मिल्दैन, गइएन । त्यसैले फिल्म छुट्दै गए ।

नयाँ संगीतकारले चाकडी बजाएरै फिल्मी काम पाएका हुन् ?

धेरै जसोले चाकडीकै भरमा पाएका छन् । तिनले त्यसमाथि फ्री अफ कस्ट काम गरिदिएपछि फिल्म निर्मातालाई के चाहियो र ?

पुराना संगीतकर्मी सबै योग्य थिए/छन्, धेरैजसो नयाँ हावाका भरमा चलिरहेका छन् भन्न खोज्नुभएको ?

हावाका भरमा चलिरहेका छन् भन्न त मिल्दैन । तर यताको पनि उताको पनि गरिरहेको छु भनेर सबैतिर लिंक मिलाएर काम गर्छन् । तीमध्ये एकदुई संगीतकार राम्रा पनि छन् । महेश खड्का र सुरेश अधिकारीको फिल्मी संगीत मलाई मन पर्छ । अरूचाहिँ काम जाने पनि नजाने पनि भित्र पसेका छन् । नाम तिनको भए पनि काम गर्ने त आखिर एरेन्जरले नै हो । धेरैपहिले कम्पोजिसन र एरेन्जमेन्ट हामी आफैं गथ्र्यौं, हरेक पिस आफैं बनाउँथ्यौं । अहिले त्यो जमाना रहेन । अचेल एरेन्जर कम्पोजरभन्दा प्रधान देखिएको छ ।

कम्पोजरले यसो फम्र्याट मात्रै बनाइदिने हो ।

हो । एरेन्जर राम्रो पर्‍यो भने गीत चल्यो, नत्र भन्देखिन् डुब्ने स्थिति हुन्छ ।

हाम्रा सिनेकर्मीचाहिँ काम राम्रो गर्ने होइन, सित्तैंमा गर्ने संगीतकार चाहँदा रहेछन् ।

प्रायः त्यस्तै देखिएको छ । मैले फिल्ममा काम गर्न छाडेको बार्‍हतेर्‍ह वर्ष भयो । पछि आएर टेलिफिल्म गरें, 'दलन' । त्यसका गीतहरू निकै पपुलर भए । त्यसको ब्याकग्राउन्ड म्युजिकसमेत आफैंले दिएको हुँ, हाम्रै लोकबाजाहरूमार्फत ।

तर शुभबहादुरको जुन नाम सुगमसंगीतमा छ, त्यो अन्यत्र बन्न सकेन नि ?

ठीक हो । फिल्ममा संगीतकारले निर्माता/निर्देशकको संकेत अनुसार चल्नुपर्ने हुन्छ । त्यसैले कुनै गीत चल्छ, कुनै चल्दैन । फिल्मी मुडमा कम्पोज गर्दा फिल्मलाई

चाहिँ सुहाउने, बाहिर बजारमा त्यति सारो नचल्ने पनि हुन सक्छ ।

तपाईंको पर्याय चाहिँ ँहुँ यात्री...’ नै बनेको छ ?

दीप श्रेष्ठजीले त्यो गाउनुभन्दा दसबार्‍ह वर्षअघि नै तारादेवीले गाएको 'फूलैफूलको मौसम तिमीलाई...' मार्फत म चिनिएको हुँ । तारादेवी, म र रत्नशमशेर थापा सँगै थियौं, मैले ट्युनिङ सुनाएपछि रत्नशमशेरजीले लेखिदिनुभएको थियो । त्यसपछि प्रेमध्वज प्रधान, फत्तेमान, योगेश वैद्यले पनि मेरा कम्पोजिसनहरू गाउनुभयो । तर सुपरहिट भएको चाहिँ 'हुँ यात्री...' नै हो ।

हुन पनि त्यसको कम्पोजिसन र एरेन्जमेन्ट उत्कृष्ट छ । गितारका पिसहरू कर्णपि्रय छन् ।

भैरवनाथ रिमालजीले मलाई त्यो गीत दिनुभएको थियो । तत्काल मैले कम्पोज गरेको थिएँ, दीपलाई नै ध्यानमा राखेर । मैले खासमा त्यो गीतमार्फत उहाँको प्याटर्नलाई चेन्ज गर्न खोजेको थिएँ । उहाँ आफूले गाउने गीत आफैं कम्पोज गर्नुहुन्छ, निकै मेलोडियस छन् उहाँका काम । 'हुँ यात्री...' लाई भिन्न स्टाइलमा कम्पोज गरेर दिएँ, उहाँले त्यति सारो रुचाउनुभएन । त्यो ट्युनिङमा पछि ओमविक्रम विष्टजीले 'आऊ आऊ मेरो दिलमा तिमी...' गाउनुभयो र हिट पनि भयो । दीपजीका लागि फेरि अर्कै कम्पोजिसन गरें, जुन सबैको सामु छ ।

केही राम्रा शब्द वाधुन बने कि नारायणगोपालको पछि लाग्ने त्यो जमानामा दीप दाइलाई नै किन रोज्नुभयो ?

दीपजीसँग मैले धेरै काम गरिसकेको थिएँ, उहाँको स्टाइल पनि मन पथ्र्यो । 'हुँ यात्री...' मा पूर्णतया आधुनिक पाराको कर्ड प्रोग्रेसन छ, जटिल खालको । सुन्दा मीठो, गाउन गार्‍हो । धेरै एक्सिडेन्टल नोटहरू यसमा प्रयोग भएका छन् । तर ब्याकिङमा पनि र गीतमा पनि नियमित कर्ड नै प्रयोग भएका छन् । नेपाली गीतहरू तीनटा कर्ड प्रयोग गरेर कम्पोज भइरहेको त्यो जमानामा मैले बदलाव ल्याएको थिएँ ।

गार्‍हो भएकैले दीप दाइले कन्सर्टतिर 'हुँ यात्री...’ त्यति नगाउनुभएको हो कि क्या हो ?

उहाँले त्यो गीत सकभर अभोइड नै गर्नुहुन्छ । उहाँले सातआठ वर्षअगाडि 'शुभजी, मलाई त्यो गीतले हैरानै पार्‍यो, धेरै सतायो' भन्नुभएको थियो । त्यो गीत नगाउने सोचेर स्टेजमा गयो, भरे त्यही फर्माइस भइदिन्थ्यो रे हाऽहाऽहाऽ...

त्यसका पिसहरू पनि आफैंले बजाउनुभएको थियो ?

हो । त्यो गीत जति पावरफुल छ, पिसहरू पनि त्यति नै राम्रा छन् । गिटार पिस, ब्याकिङमा भायोलिन पिस सबै मेरा आफ्नै हुन्, आफैंले बजाएको हुँ ।

दीप दाइसँग अर्को काम नगर्नुको कारण ?

उहाँ अरूका कम्पोजिसन गाउँदै गाउनुहुन्नथ्यो । बाहिरका दुईतीन वटा गाएमध्ये मेरो एउटा परेको हो । उहाँको प्याटर्न नबुझी अरूबाट कम्पोज भएका गीतहरू उहाँले गाए पनि त्यति राम्रा भएका छैनन् । अचेलका केही गीतले त्यसको पुष्टि गर्छन् ।

नारायणगोपालजीसँग शुभ-शम्भुजितका नामले काम गर्नुभयो । त्यो जोडी बन्नुको पृष्ठभूमि बताइदिनुस् न ।

शम्भुजित बास्कोटा र मैले इन्डियातिरको सिको गर्दै संयुक्त रूपमा संगीत दिन जोडी बाँधेका थियौं । कहिले उहाँ स्थायी बनाउनुहुन्थ्यो, म अन्तरा पूरा गर्थें । त्यस्तो धेरै समय चल्यो । कुनै सिंगै मैले गरेको गीतमा पनि उहाँको नाम आइरहेको हुन्थ्यो । पछि उहाँ फ्री लान्सर हुनुभयो, म जागिरको बन्देजमा पर्दै गएँ । अनि जोडी टुट्यो । हाम्रो जोडीको गीत नारायण दाइले एउटा मात्रै गाउनुभयो- 'तिमीले भनेका सारा देव छोएर...' ।

नारायण दाइ अरूका कम्पोजमा निकै नाकनिक गर्नुहुन्थ्यो रे ?

हामीसँग त्यस्तो भएन । उहाँले अगाडि बसेर कम्पोज गरेका हौं त्यो गीत । बरु मैले उहाँका केही कुरा नमानेको छु । उहाँको घर महाराजगन्जमा थियो, मेरो चाबहिलमा । उहाँ कहाँ आइरहनुहुन्थ्यो । त्यति खेर उहाँ 'गीतियात्रा' एल्बमको तयारीमा हुनुहुन्थ्यो । एक दिन घरमा आएर 'ए शुभबहादुरजी, मेरा गीतहरू एरेन्ज गरिदिनुपर्‍यो' भन्नुभयो । म त्यतिखेर सफल एरेन्जर थिएँ । गुलाम अलीले गाएका 'गाजलु ती...,' 'के छ र दिउ“m...,' 'किनकिन तिम्रो तस्बिर...' र 'लोलाएका ती ठूला आँखा...' मैले एरेन्ज गरेको हुँ । नारायण दाइको इच्छा पनि त्यस्तै रहेछ । तर म निकै व्यस्त थिएँ, अलिकति टाइम लाग्छ भनेपछि उहाँले अर्कैलाई खोज्नुभयो ।

शुभ-शम्भुजितको जोडी पहिलो फिल्म 'के घर के डेरा’ पछि नै किन हराएको थियो ?

त्यसअघि अन्य केही गीत, नाटकमा हामीले काम गरिसकेका थियौं । त्यसबाट मलाई आफू धेरै जोतिनुपरेको अनुभव हुँदै थियो । सांगीतिक ज्ञान ममा बढी हुनाले धेरै प्रयोगमा मै आउँथें । त्यतिखेर फिल्म पनि कमै बन्थे । म अहिले पनि ठोकेर के भन्छु भने संगीत लाइनमा म नेपाललाई चाहिनेभन्दा पनि बढी छु ।

0 comments

Leave a Reply

Copyright © thenewyorkindia .